महाकवि तुलसीराम शर्मा ‘कश्यप’को ८७औँ जन्मजयन्ती समारोह सम्पन्न, कथाकार उषा शर्मालाई ‘कश्यप’ स्मृति पुरस्कार प्रदान
नेपाली साहित्य परिषद्, सिक्किम तथा तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमको संयुक्त आयोजनामा महाकवि तुलसीराम शर्मा ‘कश्यप’को ८७औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ। गत ११ फेब्रुअरी २०२६ मा परिषद् भवनको सभाकक्षमा आयोजित यस समारोहमा वरिष्ठ कथाकार उषा शर्मालाई उनको कथा सङ्ग्रह ‘गन्तव्य’का लागि दशौँ ‘कश्यप’ स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो।
कार्यक्रममा पुरस्कृत कथाकार उषा शर्माले आफ्नो मन्तव्य राख्दै यो पुरस्कारले साहित्य सृजनामा थप जिम्मेवारी थपेको बताइन्। उनले आफ्नो यो उपलब्धिमा ‘प्रतिभा मिलन’ जस्ता मासिक कार्यक्रमको पनि ठूलो योगदान रहेको उल्लेख गरिन्।
समारोहमा ‘कश्यप’का काव्यकृतिबाट गजलकार सीता शर्मा ‘शीत’ले कविता वाचन गरेकी थिइन्। यसैगरी सुश्री आलिषा छेत्री र शेरबहादुर कार्कीले पनि आफ्ना स्वरचित कविताहरू वाचन गरेका थिए। महाकवि ‘कश्यप’को व्यक्तित्व तथा कृतित्वबारे डा. कृष्ण सापकोटाले वार्ता प्रस्तुत गरे भने भारतको चौथो नागरिक सम्मानबाट अलङ्कृत साहित्यकार सानु लामाको साहित्यिक योगदानबारे डा. टेकबहादुर छेत्रीले प्रकाश पारेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘कश्यप’द्वारा रचित कवितालाई सङ्गीतकार जीवन शर्माले सङ्गीतबद्ध गरी गायक गणेश ढुङ्गेलले गीत प्रस्तुत गरेका थिए।
वरिष्ठ भाषाविद् प्रा. रुद्र पौड्यालको प्रमुख आतिथ्य तथा नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथि प्रा. पौड्यालले ‘कश्यप’ प्रतिष्ठान तथा परिषद्ले महाकविलाई जीवन्त राख्न पुर्याएको योगदानको प्रशंसा गरे। उनले वर्तमान समयमा पुस्तक प्रकाशन बढिरहे पनि पाठक घट्दै गएकाले पठन संस्कृतिलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष हरि ढुङ्गेलले समारोह अत्यन्त सफल भएको बताउँदै ‘कश्यप सङ्गीत’को अवधारणालाई अघि बढाउन सके नेपाली सङ्गीत जगतमा ठूलो उपलब्धि हुने विचार व्यक्त गरे।
परिषद्की उपाध्यक्ष भक्ति शर्माको कुशल सञ्चालनमा सम्पन्न यस कार्यक्रममा कश्यप प्रतिष्ठानका सदस्यहरू, स्थानीय भाषा-साहित्यप्रेमी तथा साहित्यानुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
