जोरथाङ, दक्षिण सिक्किम:
सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले आज जोरथाङस्थित गरिब उत्थान भवनमा एक महत्वपूर्ण सभा आयोजना गरेको छ। पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा सम्पन्न उक्त सभामा पार्टीका प्रमुख पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सभाको मुख्य उद्देश्य आगामी ४ मार्चमा मनाइने एसडीएफको स्थापना दिवसको तयारी गर्नु तथा पार्टीको जनहितप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनु रहेको थियो।
अध्यक्ष पवन चामलिङले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजनीति व्यक्तिगत स्वार्थका लागि नभई समाज र जनताको हितका लागि गरिने कर्म भएको बताए। उनले एसडीएफ सधैं सिक्किम र सिक्किमे जनताको पक्षमा समर्पित रहेको उल्लेख गरे।
उनले सिक्किमे जनतालाई असल शासन (Good Governance) आवश्यक रहेको बताउँदै एसडीएफले मात्र प्रभावकारी र सुरक्षित प्रणाली निर्माण गर्न सक्ने दाबी गरे। साथै, उनले कार्यकर्ताहरूलाई निराश नहुन र स्वाभिमान तथा समर्पणका साथ अघि बढ्न प्रेरित गरे।
चामलिङले ‘नवनिर्माण’को अवधारणालाई जोड दिँदै भने,
“जसरी एसडीएफ सरकारले सुरु गरेको जैविक अभियान विश्वले सिक्यो, त्यसैगरी सिक्किमले बनाएको प्रणाली फेरि विश्वले सिक्नेछ।”
उनले थपे,
“हामी सिर्जनशील, नवप्रवर्तनकारी र प्रतिस्पर्धी राजनीति गर्छौं। हामी सिक्किमलाई नवनिर्माण गरी नयाँ सभ्यतातर्फ लैजान्छौं।”
सभामा आगामी स्थापना दिवसलाई भव्य रूपमा मनाउने निर्णयसमेत गरिएको छ। पार्टीले सिक्किमे जनताको सम्मान र समृद्धिका लागि निरन्तर कार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
